काठमाडौं,०१ असार । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको टोखा र चन्द्रागिरि क्षेत्रमा फार्महाउसको आवरणमा सञ्चालन भइरहेको ठूलो लागुऔषध कारोबार फेला पार्दै १३ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा लागुऔषध खरिद गरी ल्याउने र फार्महाउस परिसरमा खाडल खनी लुकाएर मागअनुसार बिक्री वितरण गर्ने गिरोह सक्रिय रहेको विशेष सूचनाका आधारमा छापा मारिएको हो। दीर्घ समयदेखि संगठित रूपमा लागुऔषध कारोबार गर्दै आएको उक्त समूहलाई पक्राउ गर्न सफल हुनु प्रहरीका लागि ठूलो उपलब्धि मानिएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट, रुपन्देही, भक्तपुर, सिन्धुली, कालिकोट, बाजुरा, बारा, पर्सा तथा काठमाडौंका विभिन्न स्थानका १३ जना व्यक्ति रहेका छन्। प्रहरीले उनीहरूको साथबाट २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल, २ हजार ४ सय एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन बरामद गरेको छ।
त्यसैगरी कारोबारबाट आर्जित ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगद र विभिन्न कम्पनीका २८ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।






