काठमाडौं,०१ असार । इरान र अमेरिकाबीच विगत साढे तीन महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने सहमति भएको छ। दुई देशका प्रतिनिधिबीच आगामी शुक्रबार स्विट्जरल्याण्डमा द्वन्द्व अन्त्यसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
सम्झौतासँगै दुबै पक्षले यसलाई आफ्नो विजयका रूपमा व्याख्या गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतापछि इरानमाथिको समुद्री नाकाबन्दी अन्त्य हुने घोषणा गरेका छन्। उनले स्ट्रेट अफ हर्मुज खुला हुने र उक्त मार्गबाट आवतजावत गर्ने पानीजहाजले कुनै शुल्क तिर्नु नपर्ने पनि बताएका छन्।
यसैबीच इरानी फौजको केन्द्रीय मुख्यालयले दुश्मनलाई आत्मसमर्पण गर्न बाध्य पारेको प्रतिक्रिया दिएको छ। इरानको राज्यसञ्चालित इर्ना समाचार संस्थाले पनि अमेरिकी र ‘जायोनी दुश्मन’लाई हार स्वीकार्न बाध्य पारेको दाबी गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले टर्की, इराक र इजिप्टका समकक्षीसँग टेलिफोन संवाद गर्दै पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छलफल गरेका छन्। अल जजीराका अनुसार इरानले क्षेत्रीय तनावबारे कूटनीतिक संवादलाई तीव्र बनाएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषदले यस सहमतिसँगै लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी युद्धविराम हुने जनाएको छ। तर लेबनानमा भने अझै अन्यौलता कायम रहेको बताइएको छ।

यसैबीच इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्भिरले उक्त सम्झौतामा इजरायल सहभागी नरहेको भन्दै सुरक्षा सुनिश्चित नभएसम्म कुनै प्रतिबद्धता नमान्ने बताएका छन्। इजरायलले हेज्बोल्लाहविरुद्धको आफ्नो सैन्य अभियान जारी रहने स्पष्ट पारेको छ। इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले पनि इरान–अमेरिका सम्झौता इजरायल र स्वतन्त्र विश्वका लागि नकारात्मक भएको टिप्पणी गरेका छन्। उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने अडान दोहोर्याएका छन्।
कतारी मध्यस्थकर्ताहरूका अनुसार इरान र अमेरिकी प्रतिनिधिबीच बाँकी मतभेद समाधान गर्न दोहामा छुट्टै वार्ता हुने तयारी पनि भइरहेको छ।





