कर्णाली,०१ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमानसहित ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशसभाको आज बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट प्रस्तुत गर्दै विकास, पूर्वाधार र सामाजिक क्षेत्रमा प्राथमिकता दिइएको जानकारी दिए। प्रस्तुत बजेटअनुसार पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ र चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि भएको हो।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आयबाट ८५ करोड ५ लाख ९० हजार रुपैयाँ, चालु आर्थिक वर्षको बचतबाट ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ, र संघीय सरकारबाट राजस्व बाँडफाँटबापत १० अर्ब ६६ करोड ५० लाख ४९ हजार रुपैयाँ रहने अनुमान गरिएको छ।
त्यस्तै वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ६३ करोड २३ लाख रुपैयाँ, सशर्त अनुदानबाट ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ६६ करोड ७८ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४८ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। मन्त्री शाहका अनुसार वैदेशिक सहायताबाहेक अन्य स्रोतबाट सञ्चालित कार्यक्रम कार्यान्वयनका लागि आवश्यक अपुग रकम स्रोत परिचालनमार्फत व्यवस्थापन गरिनेछ।
गत आर्थिक वर्ष २०८२/८३ का लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।






