बारामा आर्थिक गणना लक्ष्यभन्दा माथि, २१ हजारभन्दा बढी प्रतिष्ठानको तथ्याङ्क संकलन

spot_img

कलैया,०१ असार । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ। हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न भएको छ।

जिल्ला आर्थिक गणना कार्यालय बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले बारामा २० हजार ९२१ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर लक्ष्यभन्दा बढी प्रतिष्ठानको विवरण संकलन भइसकेको छ। प्रारम्भिक तथ्याङ्कले पछिल्ला वर्षहरूमा बारामा आर्थिक गतिविधि विस्तार हुँदै गएको र व्यावसायिक प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा बढेको देखाएको छ। यसले जिल्लाको आर्थिक क्षेत्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको अधिकारी दासले बताए।

राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरिरहेको छ। देशभर वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बारामा पनि तथ्याङ्क संकलन कार्य तीव्र रूपमा भइरहेको छ। गणना कार्यलाई प्रभावकारी बनाउन जिल्लाभर ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएको छ। उनीहरूले स्थानीय तह, वडा कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गरी उद्योग, व्यापार, सेवा, होटल, रेष्टुरेन्ट, निर्माण, वित्तीय सेवा, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण संकलन गरिरहेका छन्।

कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय तह तथा व्यवसायीहरूको सहयोगले गणना कार्य सहज र प्रभावकारी रूपमा अघि बढिरहेको छ। निर्धारित समयभित्र गुणस्तरीय तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कले आर्थिक प्रतिष्ठानको अवस्था, रोजगारी, लगानी तथा व्यवसायिक गतिविधिबारे यथार्थ चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। साथै, यी तथ्याङ्कले नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको विश्वास छ।

कार्यालयले गणनामा सहयोग गर्न तथा छुटेका प्रतिष्ठानहरूले आवश्यक विवरण उपलब्ध गराउन व्यवसायी तथा उद्योगीहरूलाई आग्रह गरेको छ। अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि बाराको आर्थिक संरचना, व्यावसायिक प्रवृत्ति र रोजगारीको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once