काठमाडौं,२६ जेष्ठ । विज्ञान, प्रविधि तथा सामाजिक नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका महावीर पुन दोस्रो पटक मन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित शपथग्रहण समारोहमा पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुन यसअघि पनि सरकारमा सहभागी भइसकेका छन्। शिक्षा मन्त्रालय सम्हालिसकेका पुनलाई यसपटक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तन मन्त्रालयको नेतृत्व दिइएको हो।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तारका क्रममा गोरखा–१ बाट निर्वाचित सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका थिए। नव नियुक्त मन्त्री पुनबाट युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवीन सोच भएका उद्यमी र आविष्कारकर्तालाई प्रोत्साहन गर्ने, अनुसन्धानमैत्री वातावरण निर्माण गर्ने तथा प्रविधिमार्फत मुलुकको विकासलाई गति दिने अपेक्षा गरिएको छ।
शपथग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।






