मुस्ताङ,,२६ जेष्ठ । मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरला नाका हुँदै भएको आयात–निर्यात कारोबारबाट उक्त राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। भन्सार प्रमुख विदुर चुँडालका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विभिन्न मालवस्तुबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरको भन्सार राजस्व संकलन भएको छ। विद्युतीय सवारी (इभी), चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक तथा इलेक्ट्रोनिक सामग्रीको आयातबाट उल्लेख्य राजस्व प्राप्त भएको उनले बताए।
यस्तै, नेपालबाट चीनतर्फ निर्यात गरिएका हस्तकलाका सामग्री तथा स्वदेशी उत्पादनबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार गत भदौदेखि जेठ १६ गतेसम्म कोरला नाका हुँदै दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। ती सवारीसाधनको आयातबाट मात्रै ६ अर्ब ७६ करोड दुई लाख रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ।
यसैबीच, पछिल्लो समय कोरला नाका हुँदै नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको आयात प्रक्रिया विवादमा परेको छ। भन्सार जाँचपास सम्पन्न भइसकेका ती सवारीसाधनको आयात प्रक्रियामा अनियमितता भए–नभएको विषयमा सरकारले अनुसन्धान अघि बढाएको छ।

सरकारले उक्त विषयको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम तथा कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधनको अनुगमन तथा अध्ययन सम्पन्न गरिसकेको जनाएको छ।






