काठमाडौं,२३ जेष्ठ । बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा तीन नेपाली खेलाडी आबद्ध रहेको जेबी ब्रुग्सले प्रतियोगिताको सुरुआती खेलमा हार बेहोरेको छ।
शनिबार वर्षाका कारण प्रभावित खेलमा एक्सल युनाइटेड ब्रसेल्सले जेबी ब्रुग्सलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार २७ रनले पराजित गरेको हो। जेबी ब्रुग्सबाट नेपाली खेलाडी इशान पान्डे, गुल्शन झा र ललित राजवंशी मैदानमा उत्रिएका थिए।
पहिले ब्याटिङ गरेको जेबी ब्रुग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। टोलीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ५१ रन र निखिल चौधरीले ४७ रनको योगदान दिए। नेपाली खेलाडीमध्ये गुल्शन झाले २१ रन बनाए भने इशान पान्डे १ रनमै सीमित रहे। १६० रनको लक्ष्य पछ्याएको एक्सल युनाइटेड ब्रसेल्सले १२.५ ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। लगातार वर्षापछि खेल पुनः सुरु हुन नसक्दा डीएलएस गणनाका आधारमा ब्रसेल्स विजयी घोषित भयो।
बलिङतर्फ नेपाली स्पिनर ललित राजवंशीले २.५ ओभरमा ३९ रन खर्चिए पनि विकेट लिन सकेनन्। जेबी ब्रुग्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्ससँग आबद्ध ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।
यस टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान अनिल साह पनि अनुबन्धित छन्। तर दीपेन्द्र राष्ट्रिय टोलीको जिम्मेवारीमा रहेका कारण बेल्जियम पुगेका छैनन् भने अनिल नेपाल ‘ए’ टोलीसँग व्यस्त भएकाले प्रतियोगितामा सहभागी हुन सकेका छैनन्। नेपाल ‘ए’ टोलीसँग भारतको उत्तराखण्ड भ्रमणमा रहेका ललित राजवंशी भने त्यहीँबाट बेल्जियम पुगेर टोलीमा सामेल भएका हुन्।





