काठमाडौं,२३ जेष्ठ । बजेट घोषणाको पूर्वसन्ध्यामा प्रक्रिया मिचेर विद्युतीय सवारी साधनको भन्सार जाँचपास गरिएको आरोपमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरिएको छ।
अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रारम्भिक प्रतिवेदन र सिफारिसका आधारमा उनीहरूलाई गत जेठ २० गते नै जिम्मेवारीबाट हटाई थप अनुसन्धानका लागि भन्सार विभाग (काठमाडौँ) तानिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ। रसुवागढी नाकामा भन्सार बिन्दुमा भौतिक रूपमा नआइपुगेका सवारी साधनको समेत कागजी रूपमा जाँचपास गरिएको पाइएपछि मन्त्रालयले कडा कदम चालेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा उक्त निर्णय गरिएको हो।





