Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
spot_img
19.5 C
Kathmandu

कोल्भीमा ‘घरदैलोमा डाक्टर’ कार्यक्रम, २०० जनाले पाए निःशुल्क स्वास्थ्य सेवा

spot_img

कोल्भी,२३ जेष्ठ । “घरदैलोमा डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल, वीरगञ्जले बाराको कोल्भी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नीसम्बन्धी परीक्षण गर्नुका साथै नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श प्रदान गरेका थिए। शिविरमा सहभागीहरूलाई निःशुल्क औषधि वितरण तथा सुगर परीक्षणसमेत गरिएको थियो। त्यसैगरी वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा विशेषज्ञ महेश सिंह धामीले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरेका थिए। आँखा परीक्षणका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको शल्यक्रिया तत्कालै गरिने जानकारी दिइएको छ।

शिविरमा ११० महिला र ९० पुरुषसहित वृद्धवृद्धा, बालबालिका, अशक्त तथा असहाय गरी कुल २०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। कार्यक्रम प्रमुख दिलीप राज कार्कीका अनुसार अस्पतालसम्म पुग्न कठिनाइ हुने नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

वडा अध्यक्ष अनुप सुवेदीले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण भएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीय बासिन्दालाई ठूलो राहत पुगेको बताए। कार्यक्रमका वडा संयोजक विशाल ठकुरीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूले यस्ता समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।

आयोजकका अनुसार उक्त शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once