Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
21.8 C
Kathmandu

नेपाल–भारत सम्बन्धमा समस्या सूची तयार पार्न मोदीको आग्रह, लामो समयदेखि अड्किएको सन्धि पुनरावलोकन फेरि चर्चामा

spot_img

काठमाडौँ,२१ जेष्ठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच रहेका समस्या तथा छलफल गर्नुपर्ने विषयहरूको सूची तयार पार्न नेपाललाई आग्रह गरेका छन्।

बुधबार नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटघाटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको उल्लेख गरेका थिए। तर कुन–कुन विषयमा छलफल गर्ने, के–के काम गर्ने भन्ने विषयमा स्पष्ट सूची तयार पारेर दिन उनले सभापति लामिछानेलाई आग्रह गरेको भ्रमण दलमा सहभागी एक अधिकारीले बताएका छन्।

‘भारतले जलविद्युत्, एयरपोर्ट, सीमा नाका लगायत नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल गर्न तयार रहेको भनेको छ,’ ती अधिकारीले भने, ‘समयसीमा नै तोकेर लिस्ट माग गरिएको छ र त्यसलाई प्राथमिकताका आधारमा अघि बढाउने भनिएको छ।’ भारतीय प्रधानमन्त्री मोदीले यसअघि पनि यस्तै प्रस्ताव अघि सारेका थिए। सन् २०१४ मा नेपाल भ्रमणका क्रममा उनले द्विपक्षीय विषयहरूको विस्तृत सूची माग गरेका थिए। तर हालसम्म नेपालको तर्फबाट सो सूची उपलब्ध नगराइएको बताइन्छ।

त्यतिबेला जारी संयुक्त विज्ञप्तिको ११ नम्बर बुँदामा समेत सन् १९५० को शान्ति तथा मैत्री सन्धि र अन्य द्विपक्षीय सम्झौताहरूको पुनरावलोकन, परिमार्जन तथा अद्यावधिक गर्ने सहमति उल्लेख थियो। सोही सन्धिलाई संशोधन गर्ने विषयमा छलफल अघि बढाउन दुवै देशका विदेश सचिवहरूलाई निर्देशन दिने निर्णय भएको थियो। सन्धि संशोधनसम्बन्धी विशिष्ट प्रस्ताव नेपाल सरकारले यथाशीघ्र उपलब्ध गराउने सहमति भए पनि अहिलेसम्म औपचारिक प्रस्ताव भारतलाई नपठाइएको देखिन्छ।

परराष्ट्र मन्त्रालयका एक पूर्वसचिवका अनुसार सचिवस्तरीय बैठकहरू पटक–पटक भए पनि उक्त विषयमा गम्भीर छलफल हुन सकेको छैन। उनका अनुसार सन्धि संशोधनको विषय उठे पनि त्यसको आधार, प्रक्रिया र कार्यान्वयनका विषयमा स्पष्ट सहमति नबन्दा प्रक्रिया अगाडि बढ्न सकेन।

‘सम्बन्धित कागजात तथा प्रमाणहरू परराष्ट्र मन्त्रालयमै सीमित हुने अवस्था रह्यो,’ उनले भने, ‘अन्य मन्त्रालयसँग समन्वय नहुँदा प्रक्रिया लामो समयदेखि निष्क्रियजस्तै रह्यो।’ नेपाल–भारत सम्बन्धका महत्वपूर्ण विषय पुनः छलफलमा आउन थालेसँगै १९५० को सन्धि पुनरावलोकनको विषय फेरि कूटनीतिक बहसको केन्द्रमा आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once