काठमाडौं,२१ जेष्ठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर सहयोग गर्ने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरूले समेत आफ्नो सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने स्पष्ट पारे। यद्यपि उनले आयोग गठनको प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै सरकारलाई सचेत समेत गराएका छन्।
थापाले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै संविधान र कानूनअनुसार हुने सबै प्रयासमा नेपाली कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए। सार्वजनिक पद धारण गरेका नेता तथा पदाधिकारीहरूको सम्पत्ति सम्बन्धी विषय छिटो टुंगिनुपर्ने पनि उनले धारणा राखे। उनले केही न्यायाधीश तथा राजनीतिक नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको विषयमा कांग्रेसको कुनै टिप्पणी नरहेको स्पष्ट पारे।
कार्यक्रममा उनले भने, ‘गत भदौको नवयुवाहरूको आन्दोलनको मुख्य विषय कुशासनको अन्त्य र सुशासनको प्रारम्भ भन्ने नै थियो। अबको केही वर्ष नेपालको मुख्य विषय यही हो। सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको छ। संविधानसम्मत सबै प्रयासमा हाम्रो शतप्रतिशत सहयोग रहन्छ।’ उनले थपे, ‘हाम्रो पार्टीको प्रतिज्ञापत्रमा पनि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउने प्रतिबद्धता थियो। अहिले रास्वपाको सरकार छ, उहाँहरूले आयोग बनाउनुभएको छ। तर आयोग गठन र कार्यादेशको स्वरूपमा स्वच्छतामाथि प्रश्न नउठोस् भन्नेमा ध्यान दिनुपर्छ।’
पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गत वैशाख २ गते गठन गरिएको पाँच सदस्यीय आयोगलाई लिएर विभिन्न बहस भइरहेको उल्लेख गर्दै थापाले निष्पक्षता र पारदर्शितामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। न्युज एजेन्सी नेपाल





