वीरगंज,२१ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट पटेलको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवनिर्वाचित समितिको उपसभापतिमा राजु पटेल, सचिवमा निरज पटेल तथा सहसचिवमा नविन राम चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गीता देवी पटेल, मनोज प्रसाद कुर्मी, शोभावती देवी, तेतरी देवी, कान्ति देवीलगायत रहेका छन्।
रास्वपा पर्सा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले पार्टी संगठनलाई गाउँस्तरसम्म सुदृढ बनाउँदै जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्वाचित सभापति पटेलले पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा स्थानीय जनताको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।






