Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

‘देशभर इन्डक्सन प्रयोग बढे अहिलेको विद्युत् संरचना थेग्न सक्दैन’ : प्रधानमन्त्री बालेन

spot_img

काठमाडौं,१७ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अहिले नै पूर्ण रूपमा विद्युतीय ऊर्जामा आधारित जीवनशैली अपनाउन सक्षम अवस्थामा नरहेको बताएका छन्। संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विद्यमान विद्युत् वितरण पूर्वाधारले देशव्यापी रूपमा इन्डक्सन चुल्होको प्रयोगबाट सिर्जना हुने अतिरिक्त भार थेग्न नसक्ने बताएका हुन्।

प्रधानमन्त्री शाहले देशभरका नागरिकले एकैपटक विद्युतीय चुल्हो (इन्डक्सन) प्रयोग गर्न थाले वर्तमान ट्रान्सफर्मर र सबस्टेसनमाथि अत्यधिक दबाब पर्ने उल्लेख गरे। “अहिले तुरुन्तै पूर्ण विद्युतीय युगमा प्रवेश गर्न सक्ने अवस्था छैन। विद्यमान पूर्वाधारलाई सुदृढ नगरी ठूलो परिमाणमा विद्युत् खपत बढे प्रणालीले धान्न कठिन हुन्छ,” उनले भने।

आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको बचाउ गर्दै प्रधानमन्त्री शाहले उक्त नीति विद्युत् पूर्वाधार सुदृढीकरणका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले ल्याइएको स्पष्ट पारे।

उनका अनुसार देशभरका ट्रान्सफर्मरको क्षमता वृद्धि, नयाँ सबस्टेसन निर्माण तथा पुराना वितरण लाइन स्तरोन्नति गर्न ठूलो लगानी आवश्यक छ। सरकारले भ्याटबाट संकलन हुने रकम विद्युत् वितरण प्रणालीको क्षमता विस्तार तथा आधुनिकीकरणमा खर्च गर्ने योजना बनाएको उनले बताए।

प्रधानमन्त्री शाहले ५ प्रतिशत भ्याटलाई अत्यधिक भारका रूपमा नलिन आग्रह गर्दै यसबाट प्राप्त स्रोतले दीर्घकालीन रूपमा देशको ऊर्जा पूर्वाधार मजबुत बनाउने विश्वास व्यक्त गरे। “पहिले बलियो विद्युत् सञ्जाल निर्माण गर्नुपर्छ, त्यसपछि मात्रै मुलुक वास्तविक अर्थमा विद्युतीय युगतर्फ अघि बढ्न सक्छ,” उनले भने।

उनले विद्युत् उत्पादनसँगै वितरण प्रणालीको क्षमता विस्तार पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रको दिगो विकासका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once