राजविराज,१६ जेष्ठ । शिक्षाविद् तथा सामाजिक अभियन्ता डा. सूर्य प्रसाद यादवले राजविराज नगरपालिकाका जनप्रतिनिधिहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै शिक्षा तथा समग्र विकासका सवालमा वर्तमान नेतृत्व अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताएका छन्।
पूर्व सिँचाइमन्त्री उमेश यादवको भनाइ उद्धृत गर्दै डा. यादवले राजविराजको नेतृत्व विकासका आधारभूत तथा दीर्घकालीन विषयमा पर्याप्त गम्भीर हुन नसकेको आरोप लगाए। उनले नगरको शैक्षिक तथा बौद्धिक विकासका लागि आवश्यक मानिएका पुस्तकालय, संग्रहालय तथा अनुसन्धान केन्द्र स्थापना, स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण, राजविराज प्रज्ञा–प्रतिष्ठान गठन तथा नगरका प्रमुख विद्यालयमध्ये कम्तीमा एकलाई नमुना विद्यालयका रूपमा विकास गर्ने विषयमा पटक–पटक छलफल भए पनि ती योजना कार्यान्वयनमा जान नसकेको बताए।
उनले केही दिनअघि एउटा अन्तर्वार्ताका क्रममा पूर्व सिँचाइमन्त्री उमेश यादवले “यो राजविराजको जनप्रतिनिधिको अन्तिम भोज हो” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई नगरको वर्तमान अवस्थाप्रति गम्भीर संकेतका रूपमा लिनुपर्ने धारणा राखे।
डा. यादवले नगरवासी लामो समयदेखि मच्छरजन्य समस्याबाट पीडित रहँदा पनि सम्बन्धित निकायले प्रभावकारी पहल गर्न नसकेको दाबी गरे। “धेरै पटक आग्रह गर्दा पनि औषधि छर्कने कार्य प्रभावकारी रूपमा हुन सकेन र सरसफाइ अभियानसमेत अपेक्षाअनुसार सञ्चालन भएन,” उनले भने। उनले जनप्रतिनिधिहरूले सुझाव र परामर्श संकलन गरे पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने इच्छाशक्ति कमजोर देखिएको टिप्पणी गर्दै स्थानीय सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए। गणतन्त्रपछिको पहिलो स्थानीय सरकारको उपलब्धिसमेत अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ।
डा. यादवले राजविराजलाई काठमाडौं, धरान, धनगढी वा चितवनजस्ता विकसित सहरको रूपमा स्थापित गर्न चाहने हो भने “शिक्षित राजविराज, विकसित राजविराज महाअभियान” मा सम्पूर्ण नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार उक्त अभियान सफल भएमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरूलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ। साथै गरिब, दलित, विपन्न तथा पछाडि पारिएका समुदायका बालबालिकाले आफ्नै नगरमा सस्तो, सुलभ र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन्।
“शिक्षा विकासको मूल आधार हो। जब नागरिक शिक्षित हुन्छन्, तब स्वास्थ्य, सरसफाइ, कृषि, व्यापार, पूर्वाधार तथा समग्र सामाजिक–आर्थिक क्षेत्र स्वतः सुधारको दिशामा अघि बढ्छ,” डा. यादवले भने। उनले राजविराजको समृद्धिको आधार राजनीतिक नाराभन्दा पनि शिक्षा, अनुसन्धान र दक्ष मानव संसाधन निर्माणमा रहेको उल्लेख गर्दै नगरको भविष्य सुनिश्चित गर्न दीर्घकालीन सोच, स्पष्ट योजना तथा दृढ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।






