Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

पर्सामा दुई पत्रकार सम्मानित, मगरलाई ‘कृष्णसेन इच्छुक’ र यादवलाई युवा पत्रकारिता पुरस्कार

spot_img

वीरगंज,१६ जेष्ठ । प्रेस सेन्टर नेपाल पर्सा शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार–२०८३’ बाट कारोबार दैनिकका वीरगञ्ज संवाददाता निरज पिठाकोटे मगर सम्मानित भएका छन्। त्यसैगरी, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०८३’ युवा पत्रकार बलिराम यादवलाई प्रदान गरिएको छ।

पुरस्कृत दुवै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, एकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायतले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेका थिए।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले नेपाली पत्रकारिता अहिले विभिन्न चुनौतीबीच गुज्रिरहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको संरक्षण आवश्यक रहेको बताए। उनले जनताको आवाज मुखरित गर्ने तथा लोकतन्त्रको पहरेदारी गर्ने सञ्चार क्षेत्रलाई सशक्त बनाउन राज्यले सहयोगी नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

क्रान्तिकारी पत्रकार तथा सहिद कृष्णसेन इच्छुकको योगदानको स्मरण गर्दै गिरीले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारको पक्षमा निर्भीक पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको बताए। उनले बदलिँदो परिवेशमा पत्रकारहरूले व्यावसायिक, जिम्मेवार र निष्पक्ष पत्रकारितालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

देशभरका सञ्चारमाध्यम आर्थिक समस्याबाट प्रभावित भइरहेका बेला तिनको संरक्षण, प्रवर्द्धन तथा दिगोपनाका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापालगायत वक्ताहरूले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै श्रमजीवी पत्रकारको हकहित, व्यावसायिक सुरक्षा तथा प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार संगठनहरूबीच एकता आवश्यक रहेको बताए।

समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रतिनिधि, पर्सा प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विजय भण्डारी, पर्सा अध्यक्ष निरञ्जन मिश्र, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भुकुमार सुमन, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार लगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित भुजेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once