सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारहरूको हस्ताक्षर अभियान

spot_img

वीरगंज,०७ जेष्ठ । सरकारले खर्च कटौतीको नाममा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्रै दिने निर्णय गरेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत पर्सामा पनि सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।  

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा वीरगंजको मुर्ली बगैचास्थित शाखा भवनमा सुरु भएको हस्ताक्षर अभियानमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, सञ्चारकर्मी तथा प्रेससम्बद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता देखिएको छ । सहभागीहरूले हस्ताक्षर गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

पत्रकार महासंघले सरकारको उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने र सञ्चार क्षेत्रमा असमान व्यवहारलाई संस्थागत गर्ने खतरा रहेको जनाएको छ । महासंघका अनुसार सरकारी विज्ञापन वितरणमा विभेदपूर्ण नीति लागू गरिनु लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको मर्मविपरीत कदम हो ।

अभियानको पहिलो दिन आयोजित कार्यक्रममा वक्ताहरूले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए । उनीहरूले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र निष्पक्ष प्रेसको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्चारमाध्यमलाई विभेद गर्ने कुनै पनि निर्णय स्वीकार्य नहुने बताएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रेस स्वतन्त्रता कमजोर पार्ने प्रयासले लोकतान्त्रिक प्रणालीलाई नै असर पुग्ने चेतावनी दिएका थिए । साथै, राज्यले सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने र सूचना प्रवाहको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको संकुचनविरुद्ध सबै पत्रकार, सञ्चारकर्मी तथा नागरिकलाई हस्ताक्षर अभियानमा सहभागी भई खबरदारी गर्न आग्रह गरेको छ । महासंघले सञ्चार क्षेत्रको स्वतन्त्रता जोगाउन साझा ऐक्यबद्धता आवश्यक रहेको पनि जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा आयोजित अभियान उद्घाटन कार्यक्रममा महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका पूर्वअध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनलगायत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

महासंघका अनुसार हस्ताक्षर अभियान केही दिनसम्म निरन्तर सञ्चालन गरिनेछ । अभियानबाट संकलित हस्ताक्षर सरकारसमक्ष बुझाइने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once