काठमाडौं,२१ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट “आशा जगाउने” हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारका लागि निजी क्षेत्रलाई विकासको प्रमुख साझेदार बनाइने स्पष्ट पारे।
उनले सरकारको वित्तीय क्षमता सीमित भएकाले अर्थतन्त्र विस्तारमा निजी लगानी नै निर्णायक हुने बताए। “सरकारको खर्च जीडीपीको करिब २५–३० प्रतिशत मात्र हुन्छ, बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाटै सञ्चालन हुन्छ,” उनले भने। 
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिँदै कर प्रणालीलाई अझ उद्यममैत्री बनाउने तथा करिब दुई दर्जन कानुनहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताए।
उनका अनुसार एक रुपैयाँ सरकारी खर्चले सात रुपैयाँसम्म निजी लगानी आकर्षित गर्न सक्ने लक्ष्य राखिएको छ। पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै उनले सरकार एक्लैले पुँजीगत खर्चबाट मात्र अर्थतन्त्र विस्तार गर्न नसक्ने स्पष्ट पारे।
सहुलियत ऋणका स्रोतहरू क्रमशः घट्दै गइरहेकाले अब प्रतिस्पर्धात्मक निजी क्षेत्रमार्फत अर्थतन्त्र विस्तार गर्नुको विकल्प नरहेको उनले बताए। साथै सूचना प्रविधि (आईटी) र खनिज क्षेत्रलाई नयाँ आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए। 
अर्थमन्त्रीले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुसार नीतिगत सुधार अघि बढाइने उल्लेख गर्दै निजी क्षेत्रको नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामार्फत आयको समावेशी वितरण सुनिश्चित गरिने बताए।
उनले पछिल्ला दिनमा राजनीतिक नेतृत्वमा देखिएको पुस्तान्तरणले नयाँ युगको संकेत गरेको भन्दै निजी क्षेत्रले पनि आफ्नो सोच र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए।
वाग्लेले प्रशासनिक संयन्त्रमा देखिएको बिचौलिया प्रवृत्ति र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै इमानदार व्यवसायीका लागि सहज वातावरण निर्माण गरिने बताए। “पहुँच र भनसुनका आधारमा काम हुने अवस्था अब अन्त्य हुन्छ,” उनले भने।
उनले निजी क्षेत्रलाई पारदर्शी र उत्तरदायी बन्न आग्रह गर्दै संस्थागत प्रक्रियामा दलीय प्रभाव र गुटबन्दीबाट टाढा रहन सुझाव दिए। सरकार वाचापत्रअनुसार आर्थिक सुधार अघि बढाइरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गरेर अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। 
पुराना अनुसन्धान अघि बढाइँदै, इमानदार व्यवसायीलाई त्रसित नहुन आग्रह
अर्थमन्त्री वाग्लेले राजनीतिक प्रभावका कारण रोकिएका पुराना अनुसन्धान मात्रै अघि बढाइएको स्पष्ट पार्दै इमानदार व्यवसायीलाई अनावश्यक रूपमा डराउनुपर्ने अवस्था नरहेको बताए।
उनका अनुसार सरकारले नयाँ अनुसन्धान सुरु गरेको नभई विगतमा राजनीतिक दबाबका कारण थन्क्याइएका वा तामेलीमा राखिएका मुद्दाहरूलाई मात्रै पुनः सक्रिय बनाइएको हो।
“कसैलाई पक्राउ गर्ने भनेर सूची बनाइएको भन्ने हल्लामा सत्यता छैन,” उनले भने, “पहिले जस्तो जबरजस्ती असुलीका लागि फोन आउने अभ्यास अहिले छैन।”
उनले सरकारको प्राथमिकता सुशासन रहेको उल्लेख गर्दै व्यवसायीलाई त्रसित पार्ने नभई पारदर्शी र व्यवस्थित व्यावसायिक वातावरण निर्माण गर्ने उद्देश्य रहेको स्पष्ट पारे। व्यवसायको आवरणमा आपराधिक गतिविधिमा संलग्न हुनेलाई भने कानुनअनुसार कारबाही हुने उनले चेतावनी दिए।





