वीरगंज,२१ बैशाख । बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्र्याक्टरले च्याप्दा एक अज्ञात युवकको मृत्यु भएको छ।
स्थानीय रामबाबु रौनियारको खाली जग्गामा रातिको समयमा माटो खसाल्ने क्रममा प्लास्टिक संकलन गर्दै आएका करिब ३५ वर्षका युवक ट्र्याक्टरको चपेटामा परेका हुन्। घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार आइतबार राति भएको उक्त घटनामा युवक ट्र्याक्टरले च्यापिएको प्रारम्भिक अनुमान गरिएको छ। तर, मृतकको शव घटनास्थलबाट केही अगाडि सारिएको अवस्थामा फेला परेकाले घटना शंकास्पद देखिएको उनले बताए।
प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सिसिटिभी फुटेजको अध्ययनसहित अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको र पहिचानका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।





