राजविराज,१३ बैशाख । राजविराजस्थित साकेत पार्क पुनः सञ्चालनमा आएको विषयले स्थानीयवासीबीच मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। पार्क पुनः खुलेकोमा सर्वसाधारण खुशी देखिए पनि उद्घाटन प्रक्रियामाथि भने गम्भीर प्रश्नहरू उठेका छन्।
स्थानीयहरूको आरोप अनुसार, पार्कको पुनः सञ्चालनलाई सामान्य व्यवस्थापनको रूपमा लिनुपर्नेमा केही जनप्रतिनिधिहरूले सिलालेखमा आफ्नो नाम राख्दै पुनः उद्घाटन गर्नु नैतिक रूपमा अनुचित भएको बताएका छन्। उनीहरू भन्छन्—शिक्षा, स्वास्थ्य, सरसफाई तथा कृषि जस्ता क्षेत्रमा उल्लेखनीय नयाँ काम गर्न नसकेको अवस्थामा पुरानै संरचनाको श्रेय लिन खोजिनु उचित होइन।
यस विषयले सामाजिक सञ्जालमा समेत व्यापक बहस सिर्जना गरेको छ। धेरै प्रयोगकर्ताहरूले “कामभन्दा प्रचार बढी” भएको टिप्पणी गर्दै जनप्रतिनिधिहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
स्थानीयहरूको भनाइमा, पार्कको वास्तविक अवस्था र व्यवस्थापनबारे तस्बिरहरूले नै धेरै कुरा स्पष्ट पारिरहेको छ, जसले पुनः उद्घाटनको औचित्यमाथि थप प्रश्न खडा गरेको छ।





