काठमाडौँ,०४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आजदेखि सेवा ग्राहीले ट्रायल पास गरेपछि राजश्व तिरेको २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र पाउने बताएका छन् ।
काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले सार्वजनिक सेवाप्रवाह सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ट्रायल पास गरेपछि लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्ने बताएका हुन् । अब ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा आएको उनको भनाइ छ।
‘अब सम्भव कामलाई असम्भव भन्दै रोक्ने प्रवृत्ति अन्त्य हुन्छ। ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या हटाउँदै २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्ने व्यवस्था लागू गरिएको छ’, उनले भने।
लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै बाँकी सबै लाइसेन्स असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको पनि उनले जानकारी दिए।
मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्त्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। मन्त्रालय सम्हालेदेखि नै केन्द्रलाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विगतमा इच्छाशक्ति र तत्परताको अभावका कारण समस्या जटिल बनेको बताए।
केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै उनले ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौँसम्म प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए। करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण तथा जेनेरेटरलगायत सामग्री सञ्चालनमा ल्याउनुपर्नेमा उनले जोड दिए। लामो समयदेखि थन्किएका मेसिनहरू अहिले सञ्चालनमा आएकाले विगतमा काम किन हुन सकेन भन्ने प्रश्न पनि उनले उठाए।
त्यस्तै, नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने उनले बताए। ‘सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ’, उनले भने। सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ।
देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार पनि मन्त्रालयको प्राथमिकतामा रहेको उनले उल्लेख गरे। नेपाल टेलिकमको सेवा गुणस्तरसम्बन्धी गुनासा समाधान गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको उनले बताए।





