काठमाडौँ,०४ बैशाख । पूर्वमन्त्री दीपक खड्का अस्पतालबाट पनि डिस्चार्ज भएका छन् । खड्कालाई चैत १५ मा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद लिएर अनुसन्धान गरिरहेको थियो ।
हिरासतमा बिरामी भएपछि खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अदालतले हिरासतमा राख्ने म्याद दिँदासम्म खड्का अस्पतालमै बसे । तर, बिहीबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी अस्पतालबाट पनि डिस्चार्ज भएका छन् ।
शुक्रबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्ववय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलले उनलाई थुनामुक्त गर्न आदेश दिएका थिए । हिरासतमा बान्ता गरेपछि उनलाई नर्भिक अस्पताल हुँदै त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।





