वीरगंज,०४ बैशाख । पर्सा जिल्लाका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।
मन्त्रालयले पोखरिया नगरपालिकामा उपसचिव शेखर पौड्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाएको छ। यसअघि गृह मन्त्रालयमा कार्यरत पौड्याललाई नयाँ जिम्मेवारी दिइएको हो। पोखरियामा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कौशल झा कार्यरत थिए।
त्यसैगरी, बहुदरमाई नगरपालिकामा उपसचिव रमेश अधिकारीलाई खटाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत अधिकारीलाई नयाँ जिम्मेवारीसहित बहुदरमाई पठाइएको हो। यहाँ यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा वृजकिशोर प्रसाद कार्यरत थिए।
यस्तै, कालिकामाई गाउँपालिकामा केशव कुमार अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यहाँ कार्यरत राज कुशवाहालाई गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ भने अतिरिक्त समूहमा रहेका अधिकारीलाई कालिकामाई पठाइएको हो।
मन्त्रालयले गत चैत ३० गतेको निर्णयअनुसार एकैपटक २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको सरुवा गरेको थियो। सोही निर्णयअनुसार पर्साका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रालयले जनाएको छ।





