काठमाडौँ०२ बैशाख । बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको एक डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन्।
संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासनसम्बन्धी एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादेशी नागरिक परेका छन्। माछा मार्न प्रयोग हुने उक्त डुङ्गा मलेशिया जाने क्रममा तीव्र हावा, खराब समुद्री अवस्था तथा क्षमताभन्दा बढी यात्रु बोकेका कारण डुबेको प्रारम्भिक अनुमान गरिएको छ।
बंगलादेश कोस्ट गार्डका अनुसार अप्रिल ९ मा उनीहरूको एक जहाजले दुर्घटनामा परेका नौ जनाको उद्धार गरेको थियो। यद्यपि डुङ्गा ठ्याक्कै कहिले डुबेको भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
उद्धार गरिएकामध्ये ४० वर्षीय रफिकुल इस्लामले उद्धार हुनुअघि करिब ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन्। उनले रोजगारीको आशामा मलेशिया जान जोखिमपूर्ण यात्रा रोजेको बताए।
रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक मुस्लिम समुदाय हो। सन् २०१७ मा म्यानमारमा भएको हिंसापछि लाखौँ रोहिङ्ग्या बंगलादेश पलायन भएका थिए। बंगलादेशमा कठिन जीवनयापनका कारण धेरैजसो रोहिङ्ग्या जोखिमपूर्ण समुद्री मार्ग हुँदै मलेशिया पुग्ने प्रयास गर्ने गरेका छन्।





