Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

ठूलो नोक्सानी सहेर पनि बजारमा इन्धन अभाव हुन दिएनौं: नेपाल आयल निगम

spot_img

काठमाडौं,३० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य र नाफा–घाटासम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भ्रामक तथा नकारात्मक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निगमले सोमबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेकाले आफूहरूले प्रत्येक १५ दिनमै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको उल्लेख गरेको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट चैत १७ (मार्च ३१) मा प्राप्त पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको खरिद लागत उच्च रहेको छ। तर आन्तरिक बजारमा तुलनात्मक रूपमा कम मूल्यमा बिक्री गर्नुपर्दा निगमले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाएको छ।

सार्वजनिक गरिएको तथ्यांक अनुसार हाल सबैभन्दा बढी घाटा एलपी ग्यास र डिजेलमा रहेको छ। मूल्य समायोजनपछि पनि ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा तथा डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा घाटा भइरहेको निगमले जनाएको छ।

त्यसैगरी, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र आन्तरिक हवाई इन्धनमा ९२ पैसा प्रतिलिटर घाटा रहेको छ।

आईओसीबाट प्राप्त दररेटअनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर २ सय २१ रुपैयाँ ३२ पैसा पर्ने भए पनि खुद्रा बिक्री मूल्य २ सय १९ रुपैयाँ तोकिएको छ। डिजेलको लागत २ सय ९४ रुपैयाँ ९९ पैसा हुँदा २ सय ७ रुपैयाँमा बिक्री भइरहेको छ।

एलपी ग्यासको हकमा प्रति सिलिन्डर २ हजार ३ सय ४१ रुपैयाँ २५ पैसा लागत पर्ने भए पनि उपभोक्ताले २ हजार १० रुपैयाँमै खरिद गरिरहेका छन्।

यस्तो चुनौतीपूर्ण वित्तीय अवस्थाका बाबजुद पनि बजारमा पेट्रोलियम पदार्थको आपूर्ति सहज राखिएको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारको अवस्थालाई ध्यानमा राखी अफवाहमा नलाग्न आम उपभोक्तालाई आग्रह गरेको छ। साथै, विश्व बजारमा मूल्य घटेमा सोहीअनुसार नेपालमा पनि समायोजन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once