काठमाडौँ,२८ चैत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे। उनले आफूमाथि हुने सबै छानबिनको सामना गर्न तयार रहेको पनि बताए।
दाहालले आफ्नो नेतृत्वमा भएका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै त्यसका कारण आफूलाई कुनै डर नरहेको जिकिर गरे। उनले विगतका निर्णयबारे आफूले पटक–पटक स्पष्ट पार्दै आएको उल्लेख गरे । उनले भने, ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरैचोटी भनिसकेँ । सम्पूर्ण छानबिनका लागि म तयार छु ।’
वर्तमान सरकारको कार्यशैलीबारे सोधिएको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने बेला नभएको प्रतिक्रिया दिए।





