Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

मालपोत कार्यालय घटनापछि पर्सामा लेखापढी व्यवसायी आन्दोलित

spot_img

वीरगंज,२३ चैत । मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा प्रहरीले लेखापढी व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि पर्सामा उनीहरू आन्दोलनमा उत्रिएका छन्। जिल्लाका लेखापढी व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका हुन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालय परिसरमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू हडतालमा सहभागी भएका छन्।

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार आन्दोलन सुरु गरिएको हो।

गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीन जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको थियो। सो घटनापछि व्यवसायीहरू आक्रोशित बनेका हुन्।

अध्यक्ष यादवले लेखापढी व्यवसायीहरूलाई विनाकारण कार्यालय परिसरभित्र र बाहिरबाट समेत धरपकड तथा पक्राउ गरिएको आरोप लगाएका छन्। उनले नेपाल सरकारको नियमअनुसार भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिएर वैधानिक रूपमा काम गरिरहेका व्यवसायीहरूमाथि विभिन्न बहाना बनाई कारबाही गरिनु खेदजनक भएको बताए।

उनले विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन्।

पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना तथा चार सयभन्दा बढी लेखापढी व्यवसायी कार्यरत रहेका छन्।

हडतालका कारण सेवाग्राहीहरू मारमा परेका छन् भने मालपोत लगायतका कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once