Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

आईजीपीलाई ‘फुली’ प्रधानमन्त्रीबाट लगाइने संकेत, परम्परा फेरिने तयारी

spot_img

काठमाडौं,१६ चैत । गृहमन्त्री सुधन गुरुङ ले अब प्रहरी महानिरीक्षक (आईजीपी) लाई दज्र्यानी चिन्ह ‘फुली’ प्रधानमन्त्रीबाट लगाइने संकेत गरेका छन्।

सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै मन्त्री गुरुङले ‘अब आईजीपीलाई फुली प्रधानमन्त्रीले लगाइदिन्छन्’ भन्दै नयाँ अभ्यास सुरु गर्ने संकेत दिएका हुन्।

हालको कानुनी व्यवस्थाअनुसार आईजीपीलाई गृहसचिवले फुली लगाइदिने प्रचलन छ। तर लामो समयदेखि प्रहरी प्रमुखलाई प्रधानमन्त्री, गृहमन्त्री वा निवर्तमान आईजीपीबाट दज्र्यानी चिन्ह लगाइदिनुपर्ने माग उठ्दै आएको छ।

नेपाल प्रहरीको औपचारिक इतिहास २००७ साल चैतदेखि सुरु भएको मानिन्छ। पहिलो आईजीपी तोरण शमशेर ज.ब.रा. थिए भने हालसम्म ३२ जना आईजीपीले नेतृत्व गरिसकेका छन्। अहिले ३३औँ आईजीपीका रूपमा दानबहादुर कार्की कार्यरत छन्।

विश्वका धेरै देशहरूमा निवर्तमान प्रहरी प्रमुखले नयाँ प्रमुखलाई फुली लगाएर पद हस्तान्तरण गर्ने परम्परा रहेको छ। नेपालमा पनि २००७ देखि २०४९ सालसम्म यही अभ्यास कायम थियो।

तर १४औँ आईजीपी मोतिलाल बोहरा लाई तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा ले फुली लगाइदिएपछि यो परम्परामा परिवर्तन आएको थियो। पछि केही समय पुनः आईजीपीबाटै फुली लगाउने अभ्यास सुरु भए पनि १९औँ आईजीपी ओमविक्रम राणा को कार्यकालदेखि फेरि तोडियो।

त्यतिबेला दोस्रो जनआन्दोलनपछि तत्कालीन आईजीपी श्यामभक्त थापा लाई हटाइएपछि गृहमन्त्री कृष्णप्रसाद सिटौला को निर्देशनमा गृहसचिवमार्फत फुली लगाउने अभ्यास सुरु भएको थियो, जुन हालसम्म जारी छ।

त्यसयता हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, रविन्द्र प्रताप शाह, कुवेर सिंह राणा, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर प्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरज प्रताप सिंह, वसन्तबहादुर कुँवर, दीपक थापा, चन्द्रकुवेर खापुङ र दानबहादुर कार्की लगायतका आईजीपीहरूले गृहसचिवबाटै फुली लगाएका थिए।

अब भने गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह बाट फुली लगाउने परम्परा बसाल्ने संकेत दिएका छन्।

तर प्रहरीसम्बन्धी जानकारहरूले भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार निवर्तमान प्रमुखबाटै नयाँ प्रमुखलाई फुली लगाउने परम्परा पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएका छन्। अब आगामी नियुक्तिमा नयाँ आईजीपीले प्रधानमन्त्रीबाट फुली लगाउँछन् वा वर्तमान आईजीपीबाट—यो भने हेर्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once