वीरगंज,१६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा सोमबार वीरगंजमा मशाल जुलुस निकालिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताहरूले ओलीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्। एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव को नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउप्रति कडा असन्तुष्टि जनाएका थिए।
प्रदर्शनकारीहरूले ओलीको पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्। मशाल जुलुस वीरगंजका विभिन्न स्थान हुँदै निकालिएको थियो।
जुलुसका क्रममा केही स्थानमा प्रहरीले हस्तक्षेप समेत गरेको बताइएको छ। कार्यक्रममा एमाले नेता तेज प्रकाश निसाद, युवा नेता आसिफ अली, अंगद गुप्ता, बिकी सिंह लगायतको उपस्थिति रहेको थियो।
प्रदर्शनमा सहभागीहरूले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। एमालेले आफ्ना शीर्ष नेताको पक्राउविरुद्ध देशव्यापी विरोध कार्यक्रम जारी राख्ने जनाएको छ।





