Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

आमाको नामबाट २,९४८ जनाले पाए नागरिकता, नयाँ नियमावलीपछि वृद्धि

spot_img

काठमाडौँ,१० चैत । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएयता आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता प्राप्त गरेका छन्। नयाँ व्यवस्थाअनुसार हालसम्म सो संख्यामा नागरिकता वितरण भएको गृह मन्त्रालयले जनाएको छ।

चौथो संशोधनसहितको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो। गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको थियो।

संशोधित व्यवस्थाअनुसार नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ सहित नियम ५, ७, ८ र १४ मा परिवर्तन गरिएको छ भने नियम १६ (क) थप गरिएको छ। साथै अनुसूचीमा पनि संशोधन गरिएको छ।

नयाँ प्रावधानअनुसार बुबा वा आमामध्ये एक जनाले जन्मका आधारमा नेपाली नागरिकता लिएको र अर्को अभिभावक नागरिकता नलिँदै मृत्यु भएको वा बुबाको ठेगाना अज्ञात रहेको अवस्थामा सन्तानले नागरिकता पाउने व्यवस्था गरिएको छ। त्यस्तै नेपाली आमाबाट विदेशमा जन्मिएर बुबाको पहिचान नभएका तर नेपालमा स्थायी बसोबास गरिरहेका सन्तानलाई प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिनपछि अङ्गीकृत नागरिकता दिन सक्ने व्यवस्था थप गरिएको छ।

नागरिकता जारी गर्दा आवश्यक कागजातसँगै स्वघोषणालाई पनि आधार मानिने प्रावधान राखिएको छ। यसका लागि आवश्यक ढाँचा पनि नियमावलीमै समावेश गरिएको छ।

यसअघि वैवाहिक अङ्गीकृत बाहेकका अन्य अङ्गीकृत नागरिकता गृह मन्त्रालय को निर्णयबाट मात्र प्रदान गरिने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सकिने भएको छ, जसले नागरिकता वितरण प्रक्रियालाई स्थानीय तहसम्म विस्तार गरेको छ।

संशोधनले नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि समेटेको छ। साथै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नुअघि नेपाल बसाइँ अनुमति (भिसा) नियमित हुनुपर्ने व्यवस्था स्पष्ट गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once