कास्की,०३ चतै । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पोखरामा २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन्।
पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले केन्द्रीय समाचार कक्षमार्फत जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरूले विभिन्न प्रलोभन देखाएर पीडित महिलाहरूलाई होटलमा काम लगाइदिने भनी भोटे पुरूषहरूबाट रकम लिई जबरजस्ती अनैतिक कार्य गराउने गरेको खुलेको छ।
यसैगरी, प्रहरीले चार जना पीडितहरूलाई उद्दार गरेको छ।
जिल्ला अदालत कास्कीले पक्राउ परेकाहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति दिएको छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





