१० हजारसम्म नेपालीको हवाई उद्धार, बढी भए पानीजहाज प्रयोग गर्ने : परराष्ट्रमन्त्री शर्मा

spot_img

काठमाडौं,१ चैत । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

अनलाइनखबरसँग अन्तर्वार्ता क्रममा मन्त्री शर्माले युद्ध प्रभावित देशहरूमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताए । युद्ध चकिँर्दै गए उद्धारका लागि सरकारले आवश्यक तयारी समेत गरेको उनको भनाइ छ ।

त्यसका लागि विभिन्न योजना अन्तर्गत तयारी भइरहेको बताउँदै सम्बन्धित देशमा रहेका दूतावास तथा नियोगहरू मार्फत रिपोर्टिङ भइरहेको बताए ।

परराष्ट्र, श्रम, पर्यटन र गृह मिलेर संयुक्त रूपमा काम गरिएको र सोही आधारमा एउटा ‘टास्क फोर्स’ बनाएको उनको भनाइ छ ।

‘टास्क फोर्सले उहाँहरूलाई उद्धार गर्नुपर्‍यो भने कसरी गर्ने, के गर्ने भन्ने हिसाबमा उहाँहरूले पनि लेखाजोखा गरिराख्नुभएको छ र सूचना लिने क्रममा हामीले एउटा सिचुएसन सेन्टर बनाएका छौं,’ उनले भने, ‘हामीले पोर्टलहरू खडा गरेर कुनै पनि श्रमिक नेपाल फर्किन चाहन्छ भने हामीले दिएको पोर्टलमा रिपोर्ट गरेर फर्किन पाउनुपर्‍यो भन्ने किसिमको निवेदन दिन सकिन्छ र नेपाली कति छन् र निवेदन कति जनाले दिन्छन् भन्ने पनि थाहा हुन्छ ।’

सरकारले आवश्यक परे पानी जहाज भाडामा लिएर भए पनि समस्यामा परेका नेपालीको उद्धार गर्ने गरी तयारी भइरहेको मन्त्री शर्माको भनाइ छ ।

‘हाम्रा नागरिकलाई त्यहाँबाट उद्धार गर्नुपर्ने भएको खण्डमा १० हजारभन्दा घटी भए भने एउटा योजना बनाउने, १० हजारभन्दा घटी भए भने हामीसँग भएका एयरलाइन्स, भाडामा लिएका हवाईजहाजबाट उद्धार कसरी गरेर ल्याउने भन्ने एउटा प्रकारको योजना हामीले बनाउँदै छौं,’ मन्त्री शर्माले भने, ‘दोस्रो, १० हजारदेखि ५० हजारसम्मको, ती भए भनेदेखि हवाईजहाज र अरू कुनै उपायबाट ल्याउनुपर्ने होला किनभने त्यत्रो मान्छेलाई हामीले हवाईजहाजबाट ल्याउन सक्ने क्षमता राख्दैनौं ।’

कुनै पनि मुलुकले हवाईजहाजबाट लिएर आउँदाखेरि १०–२० जनालाई सहयोग गर्न सक्ने भए पनि हजारौंलाई नसक्ने उनले बताए । स्थलमार्ग खुला भएको खण्डमा सामुद्रिक बन्दरगाहसम्म जान सक्ने व्यवस्था कसरी गर्न सकिन्छ भनेर योजना बनाइने उनको भनाइ छ ।

दूतावास तथा नियोगहरूलाई पानीजहाजबाट नेपालीलाई युद्धबाट, गोली चलेको ठाउँबाट निकालेर शान्ति भएको ठाउँमा कसरी ल्याउन सकिन्छ भनेर तयारी गर्न भनिएको उनको भनाइ छ ।

‘भारतका मुम्बईसम्म ल्याउने हो कि, पोरबन्दरसम्म ल्याउने हो कि, मद्राससम्म ल्याउने हो कि, पानीजहाजको उपलब्धता कति छ, कति पैसा पर्छ, कति समय लाग्छ, त्यसमा पनि हामीले काम गरिरहेका छौं, त्यस्तै त्योभन्दा पनि बढी भयो भने त हामी पानीजहाजमै जानुपर्छ,’ मन्त्री शर्माले भने, ‘छिटो उद्धार गर्न पानीजहाज ढिलो हो तर युद्धको हिसाबले छिटो हो किनभने युद्धको भुमरीबाट निकाल्ने बित्तिकै त सुरक्षित ठाउँमा आयो, त्यसपछि चार दिन लाएर आउनलाई केही गाह्रो भएन ।’

कति संख्यामा फर्किने भनेर प्लान ए, प्लान बी, प्लान सी बनाएर त्यो संख्या अनुसार उद्धार कार्य गर्ने मानसिकता विकास गरेर सोही अनुसार योजना बनिरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once