क्लार्क रिसोर्ट्समा न्युरोसर्जनहरूको राष्ट्रिय भेला, क्षेत्रीय स्वास्थ्य सेवामाथि गहन छलफल

spot_img

वीरगंज,१६ फागुन । नेपालका न्युरोसर्जनहरूको साझा संस्था Nepalese Society of Neurosurgeons (NESON) को सम्मेलन २०२६–२७ गते साँझ ६ बजेदेखि Clark Resorts मा भव्य रूपमा सम्पन्न भएको छ। “मधेस प्रदेशमा न्युरोसर्जरीका सेवाहरू” भन्ने मूल विषयलाई केन्द्रमा राखी आयोजना गरिएको उक्त सम्मेलन बाराको परवानिपुर–५ नौतनस्थित L.S. Neuro & General Hospital को आयोजनामा सम्पन्न भएको हो।

सम्मेलनको उद्देश्य मधेस प्रदेशसहित बारा र पर्सा जिल्लामा मस्तिष्क तथा स्नायु सम्बन्धी उपचार सेवाको अवस्था, उपलब्ध सुविधा, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका विभिन्न भागबाट न्युरोसर्जन, चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आफ्ना अनुभव, अनुसन्धान तथा व्यावहारिक ज्ञान साटासाट गर्दै क्षेत्रीय स्वास्थ्य सेवाको सुदृढीकरणबारे साझा धारणा निर्माण गरेका थिए।

आयोजक संस्थाका सञ्चालक रामप्रबेश प्रसाद कुर्मी ले यस्ता सम्मेलनले चिकित्सकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार मधेस प्रदेशमा न्युरोसर्जरी सेवा विस्तारका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक छ। “स्थानीय स्तरमै गुणस्तरीय उपचार उपलब्ध गराउन सके बिरामीलाई काठमाडौँ वा बाहिर जानुपर्ने बाध्यता हट्छ,” उनले बताए।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. अर्जुन पटेल ले बारा–पर्सा क्षेत्रमा न्युरोसर्जरी सेवाको इतिहास र विकासक्रमबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले विगतमा न्युरोसर्जरी सेवा अत्यन्त सीमित रहेको स्मरण गराउँदै पछिल्लो समय आधुनिक उपकरण, दक्ष जनशक्ति र प्रविधिको प्रयोगसँगै सेवा विस्तार भएको जानकारी दिए। उनका अनुसार स्थानीय स्तरमै जटिल मस्तिष्क शल्यक्रिया सम्भव हुनु क्षेत्रका लागि ठूलो उपलब्धि हो।

त्यस्तै, वरिष्ठ न्युरोसर्जन डा. सञ्जीव कुमार झा ले L.S. Neuro & General Hospital मा उपलब्ध मस्तिष्क तथा स्नायु शल्यक्रिया सेवाहरू, प्रयोग भइरहेका अत्याधुनिक प्रविधि र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए। उनले अस्पतालले न्यून लागतमा प्रभावकारी सेवा प्रदान गर्दै आएको दाबी गर्दै भविष्यमा थप अत्याधुनिक उपकरण भित्र्याउने योजना रहेको बताए।

शैक्षिक तथा अनुसन्धान पक्षलाई समेट्दै डा. विपिन चौरसिया ले न्युरोसर्जरीमा जर्नल प्रकाशन गर्दा देखिने चुनौती र प्रिडेटरी जर्नलबाट कसरी जोगिने भन्ने विषयमा प्रस्तुति दिएका थिए। उनले गुणस्तरीय अनुसन्धान, नैतिक मापदण्डको पालना र अन्तर्राष्ट्रिय स्तरका प्रकाशनमार्फत नेपाली चिकित्सकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए।

जेनरल फिजिसियन डा. अजय कुमार गुप्ता ले एक्युट इस्केमिक स्ट्रोक (आकस्मिक पक्षघात) को उपचार व्यवस्थापनबारे आफ्नो अनुभव साझा गर्दै समयमै पहिचान र उपचार भएमा बिरामीको ज्यान जोगाउन सकिने बताए। उनले आपतकालीन सेवाको सुदृढीकरण र जनचेतनाको आवश्यकता औँल्याए।

वरिष्ठ फिजियोथेरापिस्ट उदय मिश्र ले न्युरो रिहाबिलिटेशनका प्रोटोकलहरूबारे जानकारी दिँदै शल्यक्रियापछि पुनर्स्थापना उपचारको महत्त्वबारे प्रकाश पारे। उनका अनुसार सफल शल्यक्रियासँगै प्रभावकारी रिहाबिलिटेशन भए मात्र बिरामी पूर्ण रूपमा सामान्य जीवनमा फर्कन सक्छन्।

सम्मेलनका सहभागीहरूले मधेस प्रदेशमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्न नीति निर्माण तहमा पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। स्थानीय चिकित्सकहरूलाई तालिम, अनुसन्धान र प्रविधिमा पहुँच उपलब्ध गराउन सके प्रदेशमै उच्चस्तरीय सेवा सम्भव हुने निष्कर्ष निकालिएको थियो।

डा. अर्जुन पटेलले सम्मेलनले चिकित्सकहरूबीच सहकार्य बढाउने, स्थानीय स्तरमै जटिल उपचार सम्भव बनाउने तथा बिरामीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता कम गर्ने विश्वास व्यक्त गरे। “हामीले मधेस प्रदेशमै विश्वस्तरीय न्युरोसर्जरी सेवा दिने लक्ष्य राखेका छौँ,” उनले भने।

समग्रमा, NESON सम्मेलनले मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। बारा–पर्सा क्षेत्रलाई न्युरोसर्जरी सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने दिशामा यो सम्मेलन कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once