वीरगंज,१६ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न कडा सुरक्षा व्यवस्था लागू गरेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग नेपाल, गृह मन्त्रालय तथा जिल्ला सुरक्षा समितिको निर्णय र सर्वदलीय/सर्वपक्षीय बैठकको सहमतिअनुसार आदेश जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए।
तीन दिन सीमाना बन्द
जारी सूचनाअनुसार फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म पर्साका भारतीय सीमासँग जोडिएका सम्पूर्ण नाका बन्द रहनेछन्। मौन अवधिभर विदेशी नम्बर प्लेटका यात्रुवाहक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।
होली र रमजान घरमै मनाउन आग्रह
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै होली तथा रमजान पर्व सार्वजनिक स्थलमा भीडभाड गरी मनाउन निषेध गरिएको छ। चोक, चौर तथा खुला स्थानमा मेला, महोत्सव, सांगीतिक कार्यक्रम वा मञ्च निर्माण गरी कार्यक्रम गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।
त्यस्तै, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, जबरजस्ती रंग दल्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ। कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा, चुनाव चिन्ह अंकित भेष्ट, टि–सर्ट, गम्छा, टोपी लगायतका सामग्री लगाएर पर्व मनाउन पनि रोक लगाइएको छ।
होलीका दिन फागुन २० गते मोटरसाइकल प्रयोग गरी पर्व मनाउन समेत निषेध गरिएको छ।
मतदानका दिन सवारी पास व्यवस्था
मतदानको दिन एम्बुलेन्स, रेडक्रस, दूध तथा औषधि बोक्ने सवारी, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल तथा सुरक्षा निकायका सवारीसाधनलाई पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ। अन्य सवारीका लागि जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन अधिकृतको सिफारिसमा फागुन १९ गते जिल्ला प्रशासन कार्यालयबाट पास वितरण गरिनेछ।
डीजे र चुनावी प्रचारमा पूर्ण प्रतिबन्ध
फागुन १६ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म पर्सा जिल्लाभर राजनीतिक प्रचार–प्रसार तथा धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूमा डीजे लगायत ध्वनि प्रदूषण हुने बाजा बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा जारी सूचनामा आदेशको पालना नगरे प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।





