Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

रास्वपाको सरकार बने पर्सामा ठूला विकास योजना ल्याउने कानुको घोषणा

spot_img

वीरगंज,१६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२९ बसडिलवा तथा बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार कानुले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कुशासन र भ्रष्टाचार अन्त्यका लागि रास्वपाको घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। “अस्थिरताको राजनीतिक चक्रव्यूह तोडेर देशमा स्थिर सरकार स्थापना गर्नु आजको आवश्यकता हो,” उनले भने।

उनका अनुसार पछिल्ला चार दशकदेखि जारी राजनीतिक अस्थिरताका कारण विधिको शासन कमजोर भएको र जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको छ। समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित रास्वपा चुनावी मैदानमा उत्रिएको उनले बताए। उनले पर्सा क्षेत्रका सबै रास्वपा उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रहसमेत गरे।

“पर्सा जिल्लामा देशकै आर्थिक नगरी वीरगञ्ज पर्छ। भौगोलिक तथा कूटनीतिक दृष्टिकोणले पनि यो क्षेत्र अत्यन्त महत्वपूर्ण छ,” कानुले भने, “तर यहाँबाट निर्वाचित सांसद तथा मन्त्रीहरूको बेवास्ताका कारण शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था जीर्ण बनेको छ।”

निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठूला विकास योजना अघि बढाउने उनले प्रतिबद्धता जनाए। कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर जनताका आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो। “स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गरेर योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले थपे।

कृषि क्षेत्रका समस्यातर्फ संकेत गर्दै उनले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाउने र युवालाई सीपमूलक तालिम प्रदान गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सुनाए। “युवाले गाउँमै अवसर पाए वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले बताए।

घरदैलोका क्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानी क्षेत्रमा सुधार नभएको गुनासो गरेका थिए। जवाफमा कानुले जनताको आवाज संसद्मा सशक्त रूपमा उठाउने र विकासमा ठोस परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा सहभागी युवाहरूले ‘परिवर्तनको समय आएको’ प्रतिक्रिया दिँदै रास्वपाप्रति आकर्षण बढ्दै गएको बताए। ज्येष्ठ नागरिक तथा महिलाहरूले पनि यसपालि सोचविचार गरेर सुशासन र जबाफदेहितालाई प्राथमिकता दिँदै मतदान गर्ने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once