तनहुँ,३० पुस । माघे सङ्क्रान्तिको अवसरमा देवघाटधाममा वार्षिक धार्मिक मेला सुरु भएको छ। त्रिशूली र कालीगण्डकीको संगमस्थलमा हुने यस मेलामा तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ।
समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। भक्तजनको सुरक्षा, यातायात र पार्किङ व्यवस्थापनका लागि तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।
मेला क्षेत्रमा धुम्रपान, मांस, मदिरा र सुर्तीजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिएको छ। वेणीसङ्गममा स्नान गर्ने क्षेत्र डोरीले छुट्याइएको छ र सुरक्षित क्षेत्रभित्रै मात्र स्नान गर्न भक्तजनलाई आग्रह गरिएको छ।
आज बिहान विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधि अनुसार वेणीसङ्गममा लिङ्गो गाडी मेलाको औपचारिक शुभारम्भ गरिएको छ।





