काठमाडौँ,१५ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वायु प्रणालीको प्रभावका कारण तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ भने पहाडी र हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था कायम रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
आज रातिको समयमा समेत तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहने पूर्वानुमान गरिएको छ । यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा देखिएको हुस्सु तथा कुहिरोका कारण विशेषगरी बिहानको समयमा दैनिक जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएको छ । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्नुका साथै सडक तथा हवाई यातायातमा आंशिक अवरोध सिर्जना हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसमविद्हरूका अनुसार अझै केही दिनसम्म तराई क्षेत्रमा हुस्सु र कुहिरोको अवस्था कायमै रहन सक्ने देखिएकाले यात्राका क्रममा सावधानी अपनाउन, सवारी साधन बिस्तारै चलाउन तथा चिसोबाट जोगिने उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको छ ।





