कांग्रेसमा अब कुनै गुट छैन : सभापति थापा

spot_img

काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि देखिँदै आएका सबै गुट तथा समूह अब समाप्त भएको घोषणा गरेका छन्।

बुधबार बेलुकी १५औँ महाधिवेशनको बन्दसत्र समापन कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले कांग्रेसभित्र विभिन्न नाममा अस्तित्वमा रहेका समूह र गुटहरू अब नरहेको दाबी गरेका हुन्।

थापाले कोइराला–पौडेललगायतका नाममा चिनिँदै आएका समूहसमेत समाप्त भएको स्पष्ट पारे। उनले भने, ‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट।’ सभापति थापाको भनाइले महाधिवेशनपछि नेपाली कांग्रेसलाई विगतको गुटगत अभ्यासबाट बाहिर निकालेर एकताबद्ध ढंगले अघि बढाउने उनको संकेत देखिएको छ। उनले अब पार्टीभित्रको गुटगत प्रतिस्पर्धाभन्दा संगठनलाई एकताबद्ध बनाउँदै कांग्रेसको नीति, विचार र मुलुकका समसामयिक विषयमा केन्द्रित हुनुपर्ने धारणा राखे।

थापाले कांग्रेसको प्राथमिकता अब केवल पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित नहुने बताए। पार्टीका नीति तथा विचारलाई समाज र जनतामाझ लैजाने तथा मुलुकका महत्वपूर्ण विषयमा जनताबीच बहस र संवाद गर्ने आफ्नो प्राथमिकता रहेको उनले उल्लेख गरे। उनका अनुसार कांग्रेसले अब संगठनभित्रको शक्ति सन्तुलन र गुटगत समीकरणभन्दा बाहिर निस्किएर जनतासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्नुपर्नेछ। पार्टीको विचार र नीतिलाई समाजमा स्थापित गर्दै जनताका मुद्दामा सक्रिय रूपमा काम गर्ने उनको संकेत छ।

महाधिवेशन सम्पन्न भएसँगै पार्टीको ध्यान आगामी राजनीतिक तथा निर्वाचन गतिविधितर्फ केन्द्रित हुने पनि सभापति थापाले बताएका छन्। उनले स्थानीय तहको निर्वाचनसम्म आफू दिनरात खटिने प्रतिबद्धता व्यक्त गरे। महाधिवेशनपछि कांग्रेसलाई थप एकताबद्ध बनाउँदै संगठनलाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनाउने र जनतासँगको सम्बन्धलाई बलियो बनाउने उनको भनाइ छ। थापाले आफू पार्टीको नेतृत्वमा रहँदा गुटगत राजनीति अन्त्य गरी कांग्रेसलाई साझा र एकताबद्ध पार्टीका रूपमा अघि बढाउने सन्देश दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once