Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

नेपाल छिर्न खोज्दै गरेका रोहिङ्ग्या शरणार्थी भारततर्फ फिर्ता

spot_img

वीरगंज,०२ पुस । सीमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज–रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्न लागेको रोहिङ्ग्या शरणार्थीहरूको एउटा ठूलो समूहलाई पुनः भारत फिर्ता पठाइएको छ । बुधवार बिहान करिब १२ देखि १५ वटा टाँगामा सवार करिब एक सय जनाको समूह नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि स्थानीयवासी सतर्क बनेका थिए ।
स्थानीयहरूले उक्त समूहलाई वीरगंजको बाइपास रोड अन्तर्गत नगवा क्षेत्र अगाडि रोकेर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनीहरूले आफूहरू भारतको उत्तर प्रदेश (यूपी) घर भई नेपालमा काम गर्नका लागि प्रवेश गर्न लागेको बताएका थिए । तर उनीहरूको भनाइ, गतिविधि र कागजातप्रति शंका उत्पन्न भएपछि स्थानीय युवाहरूले उक्त समूहलाई नियन्त्रणमा लिएर वीरगंज भन्सार क्षेत्रसम्म ल्याई प्रहरीको जिम्मा लगाएका थिए ।
स्थानीय रञ्जित सर्राफका अनुसार, समूहका सदस्यहरूले उत्तर प्रदेश घर बताइ रहेपनि राम्रोसँग हिन्दी बोल्न नसक्ने, स्पष्ट परिचय खुल्ने कागजात नदेखाउने र नेपाल प्रवेशको उद्देश्य पनि प्रस्ट रूपमा खुलाउन नसकेपछि शंका लागेर सुरक्षाकर्मीलाई जिम्मा लगाइएको हो ।
उक्त घटनामा सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालको भूमिकाप्रति भने स्थानीयहरूले प्रश्न उठाएका छन् । खुला सीमाको फाइदा उठाउँदै ठूलो समूह नेपाल प्रवेश गर्दा समेत पर्याप्त चेकजाँच नगरेको आरोप उनीहरूको छ । स्थानीयहरूका अनुसार, सामान्य सर्वसाधारणले भारतबाट एक किलो चिनी ल्याउँदा समेत कडाइका साथ चेकजाँच गर्ने सशस्त्र प्रहरीले यति ठूलो समूह नेपाल प्रवेश गर्दा प्रभावकारी निगरानी नगरेको देखिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भने प्रारम्भिक जाँचका क्रममा उनीहरूले उत्तर प्रदेशमा बसोबास रहेको दाबी गरेपनि उनीहरूको गतिविधि र भनाइमा असङ्गति देखिएको जनाएको छ । सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त समूहलाई भारततर्फ नै फिर्ता पठाइएको सशस्त्र प्रहरीले स्पष्ट पारेको छ ।
सुरक्षा निकायका अनुसार, सीमा क्षेत्रबाट अवैध रूपमा प्रवेश गर्ने, शरणार्थीका रूपमा नेपालमा बसोबास गर्न खोज्ने वा सुरक्षा चुनौती सिर्जना गर्न सक्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी कडा बनाइएको छ । पछिल्लो समय यस्ता समूहहरूको आवतजावत बढ्दै गएको भन्दै सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको जनाइएको छ ।
यस विषयमा आधिकारिक प्रतिक्रिया लिन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सन्तोष राय तथा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतसँग पटक पटक सम्पर्क गर्न खोजिएपनि फोन नउठेकाले आधिकारिक प्रक्रिया लिन नसकिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once