Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

मधेश प्रदेशमा रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टी सरकारबाट बाहिरिने चेतावनी

spot_img

जनकपुर (धनुषा), १ पुस । मधेश प्रदेश सरकारमा मन्त्रालय भागबण्डालाई लिएर जनमत पार्टी असन्तुष्ट बनेको छ । आफूले रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमत पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ । जनमत पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।

मधेश प्रदेशमा मन्त्री परिषद् विस्तारको क्रममा सोमबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यसअघि २१ गते विना विभागीय मन्त्री नियुक्त भएका एकीकृत समाजवादीका कनिष पटेललाई उक्त मन्त्रालयको जिम्मेवारी दिएसँगै जनमत पार्टी असन्तुष्ट बनेको हो ।

यस विषयलाई लक्षित गर्दै, विगतमा जनमत पार्टीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कुशवाहाले मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति अहिले दयनीय अवस्थामा पुगेको टिप्पणी गरेका छन् । उनले मन्त्रालय भागबण्डाको प्रक्रियाले पार्टीको नीति, उद्देश्य र कार्यक्रमलाई कमजोर बनाएको दाबी गरेका छन् ।

कुशवाहाले सामाजिक सञ्जालमा लेख्दै चालु आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १० हजार रोजगारी सृजना गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको स्मरण गराएका छन् । तर उक्त मन्त्रालय भागबण्डाका नाममा अरू दललाई दिनु भनेको सम्पूर्ण रोजगारी सृजना कार्यक्रमलाई नै अलपत्र पार्नु बराबर भएको उनको भनाइ छ ।

उनले जनमत पार्टीको मूल उद्देश्य अनुसार सरकारमा आफ्‌नो भूमिका सुनिश्चित नभए पार्टी सरकार छाड्न तयार हुनुपर्ने स्पष्ट चेतावनी पनि दिएका छन् । ‘जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चितता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तयार हुनु पर्छ,’ कुशवाहाको चेतावनी छ ।

हाल मधेश प्रदेश सरकारमा सातदलीय गठबन्धन सहभागी रहेको छ । यस गठबन्धनअन्तर्गत जसपा र जनमत पार्टीबाहेक अन्य दलहरू एक–एक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेका छन् । जनमत पार्टीले यसअघि नै महत्वपूर्ण अर्थ मन्त्रालय लिइसकेको छ । पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव हाल मधेश प्रदेश सरकारका अर्थमन्त्री रहेका छन् ।

मन्त्रालय भागबण्डालाई लिएर उत्पन्न असन्तुष्टिले प्रदेश सरकारभित्रको राजनीतिक समीकरण थप जटिल बन्ने संकेत देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once