काठमाडौं,२७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागि ९३ दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ। आयोगले शुक्रबार दल दर्ता पूरा भइसकेका दललाई निर्वाचन चिन्ह उपलब्ध गराएको हो।
सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार मङ्सिर २१–२३ गतेको आवेदन प्रक्रियामा १०० दलले आवेदन दिएका थिए। तर केही दलले एउटै चुनाव चिन्हमा आवेदन दिएकाले अन्ततः ९३ वटा अलग-अलग चिन्ह कायम भएको छ।
निर्वाचन आयोगले २०७९ सालको समानुपातिक मतको आधारमा क्रमसङ्ख्या र चिन्ह निर्धारण गरेको छ। पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता, सातौँमा लाउडस्पिकर रहेको छ। यसैगरी, ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसिया आदिका चिन्ह राखिएका छन्।
नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले बस चुनाव चिन्ह पाएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले चकिया (जाँतो) चुनाव चिन्ह पाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले कोदालो, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले जगर भएको सिंह चुनाव चिन्ह पाएका छन्।





