हेटौँडा,२० मंसिर । मकवानपुरको हेटौँडामा लामो समयदेखि रोकिएको सडक विस्तार अभियान पुनः तीव्र गतिमा अघि बढेको छ। सडक सीमा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा तथा विभिन्न संरचना हटाउने कार्य बिहीबार बिहानदेखि डोजरसहित सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले स्थानीय प्रशासनको व्यापक सहयोगमा एकैसाथ सडक विस्तार र संरचना हटाउने प्रक्रिया अघि बढाएको हो।
कार्यालयले रेखाङ्कभित्र परेका संरचना तोडफोड गर्ने निर्णयअनुसार शहरका विभिन्न स्थानमा एकैपटक तीन–चार ठाउँबाट काम थालिएको छ। विस्तार कार्य सुरु भएपछि प्रभावित स्थानीयवासी तथा व्यापारीहरूले घर–पसल खाली गर्दै सामान सुरक्षित स्थानमा सार्न व्यस्त देखिए।
यसअघि सडक डिभिजन कार्यालयले गत मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटे–बुद्धचोक–राप्ती पुलखण्ड तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोक–सामरी पुलखण्डलाई दुवैतर्फ २५–२५ गज (७५–७५ फिट) चौड्याङ्कमा विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो। सो क्रममा सडक सीमाभित्र पर्ने अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरिएको थियो, जसअनुसार बुधबार अन्तिम समयसीमा तोकिएको थियो।
सर्वोच्च अदालतको पूर्वनिर्देशलाई स्मरण गराउँदै, तोकिएको समयभित्र संरचना नहटाइए सडक डिभिजन आफैंले भत्काउने चेतावनीसमेत दिइएको थियो। तर मुआब्जा र क्षतिपूर्तिको माग गर्दै प्रभावित घरधनी तथा व्यवसायीहरू निरन्तर विरोधमा उत्रँदै आएका थिए।
यसैबीच सडक विस्तारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ। पूर्वसांसद बिन्दबासिनी कंसाकारद्वारा मंसिर १६ मा दायर रिटमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आगामी २६ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको हो।
यद्यपि, सर्वोच्चको थप आदेश नआएसम्म सडक डिभिजन कार्यालय हेटौँडाले पूर्वनिर्धारित योजना अनुसार नै विस्तार कार्य निरन्तर जारी रहने स्पष्ट पारेको छ। शहरको विस्तार र यातायात सहजताका लागि महत्वपूर्ण मानिँदै आएको यो परियोजनाले स्थानीय क्षेत्रमा चहलपहल र तनाव दुवै वातावरण सिर्जना गरिरहेको छ।





