रौतहट,१७ मंसिर । रौतहट प्रहरीले सीमा क्षेत्र हुँदै नेपाल भित्र्याइएका ठूलो मात्राको नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका–४ लत्मरी टोल क्षेत्रमा गरिएको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।
मंगलबार अपराह्न करिब ४:३० बजे मठिया महुलिया प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बीओपी) मठियाबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई जाँचका लागि रोकेर कारबाहीको सुरुवात गरेको थियो ।
तर, मोटरसाइकलमा सवार तीनै युवकले प्रहरी नियन्त्रणबाट बच्न खेततर्फ भाग्ने प्रयास गरे । भाग्दै गर्दा उनीहरूले साथमा ल्याएको नेपाली एक हजार दरका ११८ थान नक्कली नोट फाले पनि सुरक्षाकर्मीले तत्कालै पछ्याउँदै तीनै जनालाई नियन्त्रणमा लिन सफल भयो ।
घटनास्थलमै फालिएको जाली नोट, प्रयोगमा ल्याइएको मोटरसाइकल र तीनवटा मोबाइल फोन समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेहरू—
अजय पटेल, २० वर्ष, देवाही गुनाही नगरपालिका–४
गेनालाल पटेल, २१ वर्ष, सोही ठाउँ
जयप्रकाश कुमार, २३ वर्ष, कुडवा चैनपुर–२, मोतिहारी, बिहार (भारत)
उनीहरूलाई प्रारम्भिक बयान तथा थप अनुसन्धानका लागि प्रहरी चौकी मठिया महुलियामा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रदीप विष्णु बस्यालका अनुसार उनीहरूले भारतबाट नक्कली नोट ल्याई नेपाली बजारमा पुर्याउने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
रौतहटसहित सीमावर्ती क्षेत्रमा नक्कली नोटको अवैध कारोबार बढिरहेको भन्दै प्रहरी प्रशासनले निगरानी र चेकजाँच कडाइका साथ अघि बढाइएको जनाएको छ ।





