वीरगंज,१० मंसिर । पर्साको ठोरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । ठोरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा वडा नंं. ४ घ्याङ्गडाँडास्थित खेलमैदानमा आयोजित कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर थिङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ रहेका थिए । सार्वजनिक सुनुवाइको क्रममा स्थानीयहरूले विशेषगरी इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रदान हुने नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचयपत्र लगायतका सेवामा देखिने समस्याहरूबारे आफ्नो दुःखेसो प्रस्तुत गरेका थिए । सहभागीहरूले कार्यालयका केही कर्मचारी तथा बाह्य दलालहरूको संलिप्ततामा साधारण सेवाका लागि हजारौँ रुपैयाँ असुल्ने, घुस नदिए काम महिनौँसम्म अड्किने, सेवा प्राप्त गर्न अनावश्यक दौडधुप गर्नुपर्ने लगायतका गुनासा खुलेर राखेका थिए । सेवाग्राहीहरूका अनुसार, घुस रकम नदिनेहरूको काम नहुनु र दिनेलाई छिटो सुविधा मिल्नु जस्तो व्यवहार संस्थागत समस्या बनेको उनीहरूको आरोप थियो ।
सवाल–जवाफ शत्रमा आफ्नो धारणा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनय कुमार गुप्ताले कार्यालयमा कुनै प्रकारको घुसखोरी वा अनियमित गतिविधि नभएको दाबी गरे । उनले आफूलाई हालसम्म यस्तो गुनासा औपचारिक रूपमा नआएको स्पष्ट पार्दै, यस्ता अवैधानिक क्रियाकलाप भेटिए कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले प्रशासनिक सेवा चुस्त दुरुस्त बनाउन यस्ता सुनुवाइको निरन्तरता आवश्यक रहेको धारणा राखे ।





