रौतहट,१० मंसिर । रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकमा तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मंगलवार राति करेन्ट लागेर गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार राति करिब पौने १० बजे गणेश महतोले आफ्नै घरमा माइकको तार जडान गर्ने क्रममा अचानक विद्युत् प्रवाहमा परेर गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारपछि उनलाई नेशनल हस्पिटल विजयपुरबाट थप उपचारका लागि कोल्हवी, बारातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले पुष्टि गरे। अस्पतालले राति ११:५५ बजे प्रहरीलाई जानकारी गराएको थियो।
मृतकको शरीर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





