वीरगंज,०८ मंसिर । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। लगातार केही दिनदेखि स्थिर देखिएको बहुमूल्य धातुको मूल्य सोमबार अचानक घट्दा उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार १ हजार ९०० रुपैयाँले घटेर २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतार–चढाव तथा अमेरिकी अर्थतन्त्रसँग सम्बन्धित आर्थिक संकेतकहरूका कारण सुनको मूल्यमा गिरावट आएको हुनसक्ने महासंघको अनुमान छ।
यस्तै, चाँदीको मूल्यमा पनि समानुपातिक गिरावट देखिएको छ। आइतबार तोलामा ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार २० रुपैयाँले घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
पछिल्ला दिनहरूमा अमेरिकी डलरको मजबुती, महँगाइ सूचकांक, र अन्तर्राष्ट्रिय बजारमा भएका नीतिगत परिवर्तनहरूले सुन–चाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको विशेषज्ञहरू बताउँछन्।
सुनचाँदी व्यवसायीहरूका अनुसार वर्षको अन्त्यतिर माग बढ्ने भएकाले मूल्य फेरि उक्लने सम्भावना पनि रहन्छ। अहिलेको घट्दो मूल्य उपभोक्ताका लागि भने खरीद अवसरको रूपमा देखिएको छ।





