काठमाडौं,०७ मंसिर । नेपाल–चीन व्यापारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने केरुङ नाका करिब पाँच महिनादेखि पूर्ण रूपमा बन्द हुँदा देशको अर्थतन्त्रदेखि व्यवसायीहरूसम्म ठूलो मारमा परेका छन्।
गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा ठप्प बनेको हो। बाढीले नेपालतर्फका सयौँ ट्रक तथा कन्टेनरहरू बगाउनुका साथै संरचनागत क्षति पुर्याएर व्यापारिक गतिविधि नै थन्किएको छ। अहिले पनि करिब ३०० कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा रोकिएका छन्, जसका कारण चीनबाट ल्याइने व्यापारिक सामानहरूको ढुवानी पाँच महिनादेखि अवरुद्ध छ।
काठमाडौंबाट १३२ किलोमिटर दूरीमा रहेको यस प्रमुख नाका ठप्प हुँदा व्यवसायीहरू ठूलो आर्थिक संकटमा फसेका छन्।
राजस्वमा करिब १४ अर्ब घाटा
राजस्व संकलनको हिसाबले पाँचौँ ठूलो भन्सार कार्यालय मानिने केरुङ नाका बन्द भएपछि सरकारले ठूलो राजस्व गुमाउनुपरेको छ। चालु आर्थिक वर्षका साउनदेखि कात्तिकसम्म १३ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य राखिएको भए पनि नाका अवरुद्ध हुँदा करिब १४ अर्ब रुपैयाँ बराबरको आय कटौती भएको भन्सार कार्यालयले जनाएको छ।
नाका सञ्चालनका प्रयास जारी
चीनले अस्थायी पुल निर्माणको काम अन्तिम चरणमा पुर्याएको बताइए पनि नाका पूर्ण रूपमा कहिले खुल्ने भन्ने अझै सुनिश्चित छैन। नेपालतर्फको सडक अवरुद्ध हटाइएको छ तर चीनतर्फको संरचनागत पुनर्निर्माण पूरा नभएसम्म ढुवानी सुरु नहुने व्यवसायीहरूको भनाइ छ।
नाका लामो समय बन्द रहँदा व्यापार, ढुवानी तथा राजस्व सबै क्षेत्र प्रभावित बनेका छन्, र यो समस्या समाधान कहिले हुन्छ भन्ने प्रतीक्षा व्यवसायी तथा सरकारले गरिरहेका छन्।





