वीरगंज, ५ मंसिर । नेपाली कांग्रेसलाई संगठनात्मक, वैचारिक र कार्यशैलीगत रूपमा सुदृढ बनाउने उद्देश्यले वीरगंजका युवाहरूले सामूहिक रूपमा तयार पारेको ‘सुधार प्रस्ताव’ कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । चिकित्सा, इन्जिनियरिङ, कानुन, शिक्षा, कला, सूचना–प्रविधि, कृषि, वित्तीय क्षेत्र, समाजसेवा तथा द्वन्द्व व्यवस्थापनलगायत विभिन्न पेशागत पृष्ठभूमिका करिब एक सय युवाले आफ्नो अनुभव, अध्ययन र चिन्तनलाई समेटेर तयार पारेको यस प्रस्तावमा वीरगंजका युवा नेतृत्वको उल्लेखनीय भूमिका रह्यो ।
‘द आइडिया अफ कांग्रेस’ कार्यक्रममा कात्तिक २९ गते काठमाडौंमा सहभागी युवाहरूबाट संकलित सुझावलाई प्रदीप गिरि इन्स्टिच्यूट र युथ कांग्रेस नेपालले संयोजन गरी विस्तृत ‘सुधार प्रस्ताव’को रूप दिएको थियो । प्रस्ताव ग्रहण गर्दै महामन्त्री गगन थापाले कांग्रेस कुनै समूह विशेषको मात्र संगठन नभई लोकतान्त्रिक मूल्य मान्ने र समुन्नत नेपाल इच्छाउने सबै नागरिकको साझा राजनीतिक परिवार भएको टिप्पणी गरे ।
थापाले युवाको सुझावलाई हल्का रूपमा नलिइने प्रस्ट पार्दै प्रस्ताव कार्यबाहक अध्यक्ष पूर्णबहादुर खड्कामार्फत केन्द्रीय समिति सदस्यहरूसम्म पुर्याइने र आवश्यक अध्ययनपछि व्यावहारिक कदम चालिने आश्वासन दिए । ‘द आइडिया अफ कांग्रेस’लाई केवल कार्यक्रमको रूपमा नभई युवाको सोच र अपेक्षा समेट्ने राष्ट्रव्यापी अभियानका रूपमा विस्तार गर्नुपर्ने सुझाव पनि उनले राखे ।
महामन्त्री विश्वप्रकाश शर्माले पनि देश र पार्टी दुवै जटिल चुनौतीको चरणमा रहेको उल्लेख गर्दै युवाहरूले अघि सारेको सुधार–दृष्टिले कांग्रेसलाई सही दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । औपचारिक पदीय भूमिकाबाहिर रहेर पनि लोकतन्त्रप्रति आस्था राख्दै अग्रसर भएका युवाहरूको यस्तो स्वस्फूर्त अभियानले पार्टीलाई थप जिम्मेवार, सबल र प्रभावकारी रूपमा अघि बढ्न प्रेरित गर्ने उनले बताए ।
प्रदीप गिरि इन्स्टिच्यूटका कञ्चन झा, युथ कांग्रेस नेपालका अध्यक्ष यजश्वी राई, फिल्म निर्माता मीन भाम र युवा नेता सचिन तिमिल्सिनासहितका प्रतिनिधिहरूले संयुक्त रूपमा ‘सुधार प्रस्ताव’ महामन्त्रीद्वयलाई हस्तान्तरण गरेका थिए ।





