Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

खुला सीमामा निगरानी कडा: अवैध रकम र सामानसहित ठूलो परिमाणको तस्करी रोकियो

spot_img
वीरगंज, ५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल पर्साले पछिल्ला दिनमा विभिन्न स्थानमा नियन्त्रणमा लिइएका करिब ५७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामानहरू भन्सार कार्यालयमा बुझाएको छ । सीमा क्षेत्रमा कडाइ बढाएपछि छोटो अवधिमै ठूलो परिमाणको अवैध कारोबार रोकिएको प्रहरीको दाबी छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा प्र.सि.सु. गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले वीरगंज भन्सार कार्यालयका नायब सुब्बा हफिजुल्ला अन्सारीसहित सहकार्य गर्दै वीरगंज–१०, आदर्शनगरस्थित वडा कार्यालयको दक्षिणपट्टि रहेको पुरानो घरमा छापा मारेको थियो ।
सो क्रममा भन्सार छलि गरी भित्र्याइएका किराना तथा औषधीजन्य सामग्री बरामद गरिएको थियो । बरामद वस्तुको मूल्य अन्दाजी ५४ लाख २८ हजार ६ सय रुपैयाँ रहेको बताइएको छ । यी सबै सामग्रीलाई भन्सार प्रकृया पूरा गर्न वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा.बाट खटिएको अर्को टोलीले विभिन्न स्थानमा छापा मार्दै करिब ३ लाख ३९ हजार १७५ रुपैयाँ बराबरका किराना, कपडा र हार्डवेयरका सामग्री नियन्त्रणमा लिएर भन्सार कार्यालयमा हस्तान्तरण गरेको छ ।
छिन्नमस्ता बाहिनीको सूचनामा आधारित रहेर सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण, बाराले पनि पछिल्लो कारबाहीमा उल्लेखनीय सफलता हात पारेको छ । मंसिर ३ गते बारा, विश्रामपुर–४ बाट अवैध कारोबारको आशंकामा १० लाख ८० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । त्यस्तै मंसिर ५ गते सोही स्थानबाट थप ६ लाख १५ हजार रुपैयाँ बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैबीच, प्र.सि.सु. गुल्म वीरगंजले पनि मंसिर ३ गते वीरगंज महानगरपालिका–१६, भन्सार मेन गेट क्षेत्रमा गरिएको चेकजाँचबाट ३ लाख रुपैयाँ अवैध रकम नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ । मंसिर ३ र ५ गतेका घटनालाई मिलाउँदा मात्र १९ लाख ९५ हजार रुपैयाँ बराबरको अवैध रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा चोरी–पैठारी र अवैध गतिविधि नियन्त्रणमा आफू हरसमय सक्रिय रहेको सशस्त्र प्रहरी बल पर्साले स्पष्ट पारेको छ । बलका अनुसार खुला सीमा दुरुपयोग गर्दै गरिने अवैध रकम ओसारपसार, लागू पदार्थ कारोबार, अवैध हातहतियार ढुवानीजस्ता गतिविधि रोक्न हाल थप कडाइका साथ टोली परिचालन गरिएका छन् ।
स.प्र.बल नेपाल नं. १३ गणका गणपति पुरन चन्द्र भट्टले अवैध निकासी–पैठारी रोकथामलाई अभियानकै रूपमा अघि बढाइने बताउँदै सीमावर्ती बस्तीहरूमा राजस्वको महत्वबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन् । त्यसैगरी, सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले सीमा सुरक्षामा निरन्तर कडाइ अपनाउँदै आएको र आगामी दिनमा विभिन्न सरोकारवालासँग समन्वयलाई अझै सुदृढ बनाइने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once