Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

‘मोन्था’ चक्रवात नेपालबाट बाहिरियो, भोलिदेखि मौसम खुल्ने

spot_img

काठमाडौं,१५ कात्तिक । लगातार तीन दिनदेखि नेपालमा वर्षा गराउँदै आएको ‘मोन्था’ चक्रवात अब नेपालबाट बाहिरिएको छ। तर, आज पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका केही भागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त प्रणालीको प्रभाव आज बेलुकासम्म क्रमशः कमजोर हुँदै जानेछ। भोलिदेखि देशभर मौसम खुल्ने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा हल्का वर्षा हुने सम्भावना छ। पछिल्लो एक घण्टामा वागमती प्रदेशका पूर्वी क्षेत्रमा सामान्य वर्षा भए पनि अधिकांश स्थानमा पानी रोकेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार भोलिदेखि मङ्गलवारसम्म देशका अधिकांश भागमा मौसम सुधार हुने र किसानहरूले धान भित्र्याउन सहज हुने वातावरण बन्नेछ। तर, मङ्गलवार बेलुकादेखि पश्चिम नेपालमा फेरि बादल लाग्न सक्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक तथा मौसमविद् विनोद पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार, “अरब सागरबाट आउने अर्को कमजोर प्रणाली पश्चिम नेपाल हुँदै काठमाडौंसम्म सामान्य वर्षा गराउने संकेत देखिएको छ।” उनले बुधबार हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाउँदै त्यसअघि हिमाल आरोहण वा पदयात्रामा नजान सुझाव दिएका छन्।

नेपालमा हिउँदयाममा प्रायः भू–मध्य सागरबाट आउने वायुले वर्षा गराउने गर्छ। ती वायु इरान, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिम भागमा प्रवेश गर्छन्, जसले विशेषगरी हिमाली क्षेत्रमा हिउँ पार्ने गर्छ।

यसपटक भारतको मुम्बईनजिकै अरब सागरमा विकसित न्यून चापीय प्रणालीले वर्षा बोकेको बादल गुजरात हुँदै नेपाल प्रवेश गरेको थियो। ठूलो वर्षा गराउने ‘मोन्था’ चक्रवात भने हिन्द महासागरको उत्तरपूर्वी भाग, बङ्गालको खाडीमा विकसित भएको थियो।

मौसमविद्हरूका अनुसार हिउँदयाममा नेपालमा सामान्यतया भू–मध्य सागर र अरब सागर दुवैबाट वायु प्रणालीको असर देखिने गर्छ। तर बङ्गालको खाडीबाट वायु आउने घटना भने दुर्लभ हुने बताइएको छ। मनसुन समयमा भने मुख्य रूपमा बङ्गालको खाडीबाट आउने वायु नै नेपालमा वर्षा गराउने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once