काठमाडौं,११ असोज । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले रोमाञ्चक जित हात पारेको छ। शुक्रबार राति भएको हाइ–स्कोरिङ भिडन्तमा श्रीलंकालाई सुपर ओभरमा हराउँदै भारत अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो।
निर्धारित २० ओभरमा दुवै टोलीले समान २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्दै जित निकालेको हो।
यसअघि भारतले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो। भारततर्फ ओपनर अभिषेक शर्माले ६१ रन प्रहार गरे भने तिलक वर्मा ४९ रनमा अविजित रहे। सन्जु सामसनले ३९ रन जोडे।
लक्ष्य पछ्याउँदै श्रीलंकाले पनि २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएर खेल बराबरीमा पुर्याएको थियो। ओपनर पथुम निसान्काले एसिया कपको पहिलो शतक (१०७ रन) प्रहार गरे पनि श्रीलंकालाई जित दिलाउन सकेनन्। उनले कुसल परेरासँग दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए। परेराले ५८ रन जोडे।
भारततर्फ हार्दिक पान्ड्या, अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र वरुण चक्रवर्तीले समान १–१ विकेट लिए। श्रीलंकातर्फ महीश थिक्साना, दुश्मान्था चमीरा, वानिन्दु हसरंगा, दशुन शनका र चरिथ असलंकाले पनि समान १–१ विकेट हात पारे।
यस जितसँगै सुपर फोर चरणमा श्रीलंका जितविहीन रह्यो भने भारत अपराजित रहँदै फाइनल पुगेको छ। अब उपाधिका लागि आइतबार भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुनेछ।





